Monday, July 3, 2017

उदयपुरको चौदण्डीगढी नगरपालिकाको चुनावी अन्तिम रुपरेखा!!!

चौदण्डीगढी/उदयपुर
उदयपुरको चौदण्डीगढी नगरपालिकाको स्थानीय निर्वाचन -२०७४ को नतिजा  सार्वजानिक भएको छ ।
दश वटा वडा रहेको यस नगरपालिकामा नेपाली काङ्ग्रेस का तर्फबाट खगेन्द्र राई  (निर्मल काजी) ६८७० मत ल्याएर मेयरमा बिजयी भएका छन् भने  उप-मेयरमा सोही पार्टीका रिता कुमारी चौधरीले ७६६६ मत ल्याएर बिजयी भएकी छिन्। त्यस्तै नेपाली काङ्ग्रेसका  निकटतम प्रतिद्वन्दी एमालेका नरेन्द्र राउतले ६३३० मत प्राप्त गरेका छन् भने उप मेयर प्रत्यासी कान्ता कुमारी राइले ६४८५ मत प्राप्त गरिन्। माओवादी केन्द्रका प्रत्यासी कुमार सिं कार्कीले ४४२५ मत प्राप्त गरे भने उपमेयरमा मायादेवी राइले ३६१८मत प्राप्त गरेकी छिन्।  संघीय समाजवादी फोरमका प्रत्यासी कुमार चन्द्र राइले १२१५ मत प्राप्त गरेका छन् भने उपमेयर को फोरम को मत भने ९९९ रहेको छ।
वडा  न. १ बाट अध्यक्ष पदमा  नेपाली काङ्ग्रेसका रोहित तामाङ बिजयी भए। वडा न. २ बाट संतोष सुवेदी "बलिदान" (माओवादी केन्द्र), त्यस्तै वडा न. ३ बाट पर्शुराम राई (नेपाली कांग्रेस) ,वडा  न. ४ मा चरण राई (नेपाली काङ्ग्रेस),वडा न. ५ मा देवनारायण चौधरी (माओवादी केन्द्र) बाट बिजयी बने ।
अझ रोचक त के छ भने वडा न. ६ मा माओवादी केन्द्रका कमल ध्वज राईले आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेस का ज्ञानेन्द्र प्रधानलाई झिनो मत- अन्तरले जम्मा ४ मतले जितेका छन्। त्यसैगरी वाड न. -७ मा तेजराज तिम्सिना (नेपाली काङ्ग्रेस) बाट प्यानल सहित बिजयी भए। भने वडा न. ८ मा नेपाली काङ्ग्रेसका श्याम कुमार खपाङ्गी मगर आफ्नो प्यानल सहित बिजयी बनेका छन्। त्यस्तै वडा न. ९ मा एमालेका प्रकाश राउत प्यानल सहित बिजयी भए। वडा न. १० मा नेपाली काङ्ग्रेसका रामकुमार खड्का बिजयी भएका छन्।
       समग्र चौदण्डीगढी नगरपालिकाको जनताको निम्ति जनताको अभिमत पाउनु भएका यहाँहरु सबैलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिन चाहन्छौं। जनताको नाराहरुलाई आफ्नो नारा बनाएर बिकासको निम्ति लागि पर्नुहोस् भन्ने सम्पूर्ण जनताको चाह रहेको छ।
चौदण्डीगढी नगरपालिकाको जनताहरुको आसा भरोसा र विश्वास सदैव यहाँहरु संग रहोस्।

Sunday, July 2, 2017

गायिका अन्जु पन्त को बिना मर्ने?


         नेपाली संगीतका जादुमय अावाजकी धनी गायिका अन्जु पन्तको बिल्कुलै नयाँ गीत बजारमा अाएको छ।"म त मर्छु होला" बोलको यस गीतमा राम राईको शब्द तथा संगीत रहेको छ भने संगीत संयोजन भने चर्चित संगीतकार मनोज साङ्सोनको रहेको छ।
मोडलहरु ललिता सुब्बा र चाईनिज कलाकार डोङ लिउको अभिनय रहेको यस गीत अमेरिकाको युटा राज्यको विभिन्न सुन्दर ठाउँहरुमा छाँयांकन गरिएको छ।द अार.जि.टि.अनलाईनको प्रस्तुति रहेको यस भिडियोमा क्यामेरा,एडिटिङ र निर्देशनको जिम्मा भने अहिलेका निकै जल्दाबल्दा व्यस्त निर्देशक कृष्ण राईको रहेको छ।मेकअप अार्टिस्टको कार्यभार भने सोनु कार्कीले सम्हाल्नु भएको छ।
अत्यन्तै प्रेमिल भाव बोकेको यस गीतको भिडियोमा पनि एउटा अर्गेनिक प्रेम नै दर्शाइएको छ।एक पटक हेरेर मन परे शेयर पनि गरिदिनुहोला।प्रस्तुत छ सोही गीतको म्युजिक भिडियो:


एकोहोरो प्रेममा फसिन् गायिका टि.एम. केसी(शोभा)

चौदण्डीगढी/उदयपुर
     स्थायी घर नवलपरासी भए पनि विगत ६ वर्षदेखि अस्ट्रेलियामा बसोबास गर्दै अाउनु भएकी गायिका टि.एम केसी(शोभा) नयाँ गीत लिएर देखा परेकी छिन् नेपाली संगीतमा।अाफ्नै शब्द,संगीत र अावाजमा सजिएको यस गीत"एक नजरको"मा संगीत संयोजन भने दिनेश श्रेष्ठको रहेको छ।सानै उमेर देखि अाफू संगीतमा रुचि रहे पनि निरन्तरता दिन नसकी रहेको अवस्थामा फेरि अहिले बिस्तारै अघि बढ्ने कोसिस गरेको बताउनु हुन्छ गायिका टि.एम. केसी।

लास्ट बेन्च विचको प्रस्तुती रहेको उक्त म्यूजिक भिडियोको निर्देशन रिक सुवेदी र पुकार सिंहले गरेका छन् । ब्रिसवेनका विभिन्न ठाउँमा छायाङकन गरिएको यस गीतमा गायिका केसीले आफ्नो सुमधुर अावाज पस्किएकी छिन् । मोडलहरु मनिष बिजुक्छे,अनु श्रेष्ठ र अास्मा श्रेष्ठले अभिनय गर्नु भएको यस गीतमा एक तर्फी मायामा परेको भावलाई डान्सिङ बिटमा प्रस्तुत गरिएको छ।यस गीत युवा युवतीहरुलाई लक्षित गरेर बजारमा ल्याएको केसीले बताउनुहुन्छ।
यस अघि उनले “साइमन” बजारमा ल्याइसकेर आफ्ना दर्शक श्रोताहरुको माया बटुलिसकेकी छिन् । आफ्ना श्रोता दर्शकहरुले यस गीतलाई पनि मन पराइदिने विश्वास केसीले लिएकी छिन् ।

Thursday, June 22, 2017

राइझुमाको बिहे पछि चिनिएका गायक तथा संगीतकार रवि मल्ल!

पछिल्लो समय संगीतकारको रुपमा उदाउँदो नक्षत्रका रुपमा देखिरहेका गायक,संगीतकार तथा गीतकार रवि मल्लको जन्म मङ्सिर २८ गते तनहुँको नाब्रुङ गाउँमा भएको हो। बाबा मोहनराज मल्ल र अामा बिष्णुमाया मल्लका सुपुत्रका रुपमा जन्मिएका उनी विगत एक दशक देखि  सांगीतिक क्षेत्रमा सक्रिय छन्। गायक तथा संगीतकार रवि मल्लले अनुराग संगीत विद्यालयमा संगीतकारद्वय राम सिटौला तथा अर्जुन पोखरेलसंग गायन तथा संगीतको औपचारिक प्रशिक्षण लिएका छन् भने गुरु चण्डीप्रसाद काफ्लेसंग पनि उनले संगीतको प्रशिक्षण लिइसकेका छन् । पहिले मिस्टर एम्बिज ब्याण्डबाट समवन स्पेसल नामक गीत रेकर्ड गरेर सांगीतिक क्षेत्रमा पाईला टेकेका उनी राइझुमाको बिहे नामक पहिलो सोलो गीतबाट राम्रै चर्चामा अाए।उनले संगीतबद्ध गरेका तीन दर्जनभन्दा बढि गीतहरु विभिन्न गायक–गायिकाको स्वर रेकर्ड भैसकेको छ ।आफूले संगीतबद्ध गरेका अधिकांश गीतहरु मल्ल आफैं रचना समेत गर्छन् । इमेज अवार्ड, कालिका अवार्ड, एरेना अवार्ड जस्ता थुप्रै अवार्ड कार्यक्रममा सर्वोत्कृष्ट नवगायकमा नोमिनेसनमा परेका उनले एरेना अवार्ड (सर्वोत्कृष्ट नवगायक) समेत पाएका थिए।

उनै गायक,संगीतकार तथा गीतकार रवि मल्लसंग हाम्रा चौदण्डीगढी.कम संवाददाताले लिएका छोटो कुराकनीको अंश जस्ताको त्यस्तै:

चौदण्डीगढी: नमस्कार रवि जि,यहाँलाई यस चौदण्डीगढी.कममा हार्दिक स्वागत छ।
रवि: धन्यवाद,अनि सम्पूर्ण पाठक र चौदण्डीगढी.कम परिवारमा मेरो पनि नमस्कार।

चौदण्डीगढी: लेखन, कम्पोजिसन र गायन तीनै विधामा सकृय हुनुहुन्छ,तपाईं गीतकार,संगीतकार र गायक मध्ये अाफूलाई के भनेर चिनिनु चाहहुनुहुन्छ?
रवि: म अाफू त गायक/संगीतकार भनेरै चिनिनु चाहन्छु तर यसो कहिले काहीँ लेख्ने पनि गर्छु।

चौदण्डीगढी: तपाईको संघर्षका दिनहरु कस्तो रह्यो अाजका दिनसम्म अाउँदा?
रवि: काठमान्डौं बाहिरको मान्छेलाई सामान्यतया गारै हुन्छ। अरुले गरेजस्तै संघर्ष मैले पनि गरेँ।

चौदण्डीगढी:संगीत प्रति अाफूलाई कहिले देखि रुचि भयो ?याद छ तपाईलाई?
रवि:म स्कुले जिवनबाटै संगीतमा रुचि राख्थें, सायद कक्षा ८ तिरबाट होला।पहिले चाहिँ म चित्रकला अनि साहित्यमा ज्यादा रुचि राख्थेँ पछि संगीत प्रति रुचि बढेर अायो।

चौदण्डीगढी: नेपाली संगीतमा एक दशक बिताउँदा कस्तो महशुस गर्नुहुन्छ?कतै अाफू जति अगाडि अाउनु पर्ने अाउनु सकेको छैन जस्तो लाग्दैन?
रवि: खुसी छु म , आफैंले चाहेको रुचिको काम गर्दैछु। यसमै बाँच्ने आधार बनेको छ।र अघि आउनुपर्ने सवालमा त्यस्तो अनुभव हुँदैन। सफल कलाकारहरुको ईतिहास हेर्दा पनि त्यस्तो लाग्दैन। मेरो केही वर्षको यात्रा हो। अझै लामो दौड बाँकी छ।

चौदण्डीगढी: तपाईं अाजकल शब्द र संगीतमै व्यस्त हुनुहुन्छ,यसै कारण गायनमा पछि पर्ने हो कि जस्तो महशुस हुन्न तपाईलाई?
रवि: त्यो पनि हो एक हिसाबले तर म छिटै एल्बमको तयारीमा छु। गाएर मात्र बाँच्न अलि गारै हुन्छ। गीत लेख्ने संगीत भर्ने कार्यले आर्थिक रुपमा सहयोग पनि गरेको छ।

चौदण्डीगढी: राइझुमा गीतले गायक रवि मल्ललाई स्थापित गरेको तपाईं स्विकार्नु हुन्छ?त्यो गीत कसरी तयार भयो?
रवि: केही हदसम्म सांगीतिक बृत्तमा परिचित गरायो यो गीतले मलाई। मलाइ केही फरक गर्नु मन थियो ।त्यतिबेला यसका गीतकार नरेन्द्र अाभाष जीसंग भेट भयो। यो गीत सुदुरपश्चिमको देउडाको रंगमा छ। मलाई अलि फरक लाग्यो। अनि मैले कम्पोज गरेर गाएँ।

चौदण्डीगढी: तपाईं अाफूलाई चाहिँ व्यक्तिगत रुपमा कस्ता गीतहरु मनपर्छ?
रवि: सबै खालको गीतहरु सुन्छु। तर मलाई मेलोडियस गीतहरु नै ज्यादा मन पर्छ।

चौदण्डीगढी: के नेपाली संगीतमा लागेर अब जिविकोपार्जन सम्भव छ?कस्तो लाग्छ तपाईलाई?
रवि: सपनाहरु ठूलो देख्नु हुँदैन। सामान्य जिन्दगी मजाले बाँच्न सकिन्छ जस्तो लाग्छ।

चौदण्डीगढी: तपाईका मनपर्ने गायक गायिकहरुको नाम लिनुपर्दा?
रवि: नारायण गोपाल, अरुण थापा, तारादेवी, शिव परियार, अन्जु पन्त, सुगम पोखेरेल, 1974 एडि, राजु परियार, बिमाकुमारी दुरा।

चौदण्डीगढी: संगीतकारहरु?
रवि: गोपाल योन्जन, राजु सिंह, न्ह्यु बज्राचार्य, प्रवीण बराइली, कल्याण सिंह, अर्जुन पोखरेल।

चौदण्डीगढी: गीतकारहरु?
रवि: दिनेश अधिकारी, किरण खरेल, एकनारायण भण्डारी।

चौदण्डीगढी: तपाईको विचारमा एउटा राम्रो गीत बन्नलाई मुख्य कुरा के चाहिन्छ ?
रवि: गीत राम्रो हुनमा प्रथमतः शब्द अनि संगीत त्यसपछी संगीत संयोजन अनि गायकीको हात हुन्छ मेरो विचारमा।

चौदण्डीगढी: तपाईं संगीतलाई कसरी परिभाषित गर्नुुहुन्छ?
रवि: सैद्धान्तिक परिभाषा भिन्न भएपनी मेरो विचारमा संगीत जीवनको आधारभुत आवश्यकता हो गाँस, बास, कपासजस्तै।

चौदण्डीगढी: अबको दस वर्षपछि रवि मल्ललाई कहाँ के गर्दै देख्न सकिन्छ होला?
रवि: सुखदुख जे जस्तो होस् ,संगीतमै हुनेछु।

चौदण्डीगढी: अन्त्यमा जाँदा जाँदै दर्शक श्रोतालाई केही भन्न चाहनुहुन्छ?

रवि: त्यहि हो यहाँहरुको साथ र माया बिना हामी अपुरो छौं,नेपाली संगीत अनि नेपाली कलाकारहरुलाई सधैं माया गरिदिनुहोला भन्न चाहन्छु।

Monday, June 19, 2017

मोडेल नुस्वीको नया म्युजिक भिडियो सार्वजनिक!


चौदण्डीगढी/अनलाइन
      नेपाली सांगीतिक क्षेत्रमा धेरै सर्जकहरु तथा कलाकारहरुले आफ्नो आफ्नो पहिचान कायम गरेका छन तिनै ब्यक्तिहरुमध्येका गीतकार थलिन्द्र भुजेल "उदय" पनि एक हुन ।
भर्खरै मात्र एल्बम "प्रेमिका" भित्ररहेको गीत "मैले जिउने जिन्दगी यो...." को छायांकन पश्चात् युटुब बाट रिलिज भएको छ।
मलेसियाका विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको यो भिडियोमा कलाकार तथा मोडलहरुमा पदम तामाङ , र प्रवासको भुमिमा रहेर मोडेलको भुमिकामा धनकुटा पाख्रीवासकी नुस्वी राई र अर्का मोडल बिजय तामाङको अभिनय रहेको छ।

गीतकार थलिन्द्र भुजेल "उदयको" यो गीतलाई गायक भेषराज बस्नेतले मीठो स्वरमा सजाएका छन।
भिडियोलाई क्यामेरामेन तथा निर्देशक सुजन न्यौपानेले निर्देशन गरेका हुन भने सम्पादनको काम बिकास ज्ञवालीले गरेका हुन।
ब्यबस्थापन / निर्देशनको जिम्मा भने नरेश बिसिले गरेका थिए।

Wednesday, June 14, 2017

शब्द,संगीत र स्वरकी त्रिमुर्ती रेणुका थापाको स्वरुपमा!

चौदण्डीगढी/उदयपुर
गायिका,गीतकार तथा संगीतकार रेणुका थापा कोटेश्वर काठमान्डौंकी स्थानीय वासिन्दा हुन्।सामान्य परिवारमा जन्मिएकी उनी सानैबाट गीत संगीतमा रुचि राख्थिन्।विगत ६,७ वर्ष देखि नेपाली संगीतमा अौपचारिक रुपमा लागेकी उनी पेशाले नर्स हुन्।नेपालमा महिला संगीतकारको कम भएको कारण उनी अाफूले यस क्षेत्रमा सक्दो मेहनत गर्दै अगाडि बढ्ने ईच्छा जाहेर गर्छिन्।सबै किसिमको गीत मन पराउने उनी वेिशेषत पप संगीतमा रुचि भएको बताउँछिन्।भविष्यमा अझै राम्रा गीत संगीतहरु दिने उनको योजना छ।

भर्खरै मात्र उनकै शब्द,संगीत र स्वरमा "तिम्रो मायामा" भन्ने बोलको गीत युट्युबमा रिलिज भएको छ जुन गीतमा उनलाई गायक संतोष लामाले साथ दिएका छन्।एरेन्जर सन्दिप कार्कीले यस गीतलाई राम्रो क्लब बिटमा एरेन्ज गरेका छन्।म्युजिक भिडियो निर्देशक गम्भीर बिष्टको निर्देशनमा बनेको यस म्युजिक भिडियो एउटा रेस्टुरेन्टमा छायांकन गरिएको छ। यस क्लब गीतको म्युजिक भिडियोमा गायिका रेणुका थापा अाफैं मोडलका रुपमा देख्न सकिन्छ साथमा गौरबले उनलाई साथ दिएका छन्। मेकअप अार्टिस्ट शोभा श्रेष्ठको श्रृंगार रहेको यस भिडियोलाई  पबन गौतमले खिचेका हुन् भने नवीन निरौलाले सम्पादन गरेका छन्।

Monday, June 12, 2017

चर्चाको शिखर उक्लिदै उदयपुरे गायिका .....

अहिले अाधुनिक गायनमा चर्चा बटुलिरहेकी गायिका पुजा सुनुवार उदयपुर कटारी ३ कि हुन्।सयौं गीतहरु गाईसके पनि एक वर्ष अघि "नजर" एल्बम पश्चात् उनको नाम स्थापित भएको हो।त्यस पछि ट्युसन पढाउँछु, काठमान्डु शहर भन्ने गीतहरु नेपाली सांगीतिक बजारमा उत्तिक‌ै छाए।हालै मात्र यी उदयपुरे गायिका पुजा सुनुवारले फेरि पनि “यो मन मेरो चोरिसकेछौ” बोलको अर्को रमाईलो गितको भिडियो सार्बजनिक गरेकी छिन्।

चर्चित गितकार डि.पी खनालको रचना र  संगितकार तथा गायक शंकर थापा”स्माईल”को संगित रहेको यस गितमा संगित संयोजन उदयराज पौडेलको रहेकोछ।रोमान्टिक शैलिको यो गितको म्युजिक भिडियोमा दुबई शहरका विभिन्न रमणीय दृश्यहरु कैद गरिएका छन् ।
दुबईमा रहेर पनि मोडलिङमा समय दिईरहेका मोहन बोगटी र सरिका सुनारको अभिनय रहेको भिडियोलाई वरिष्ठ नृत्य निर्देशक गोबिन्द राईले निर्देशन गरेका हुन्।रोहित बिक्रम कार्की र बिरेन्द्र भट्टले खिचेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् ।दुर्गा बहादुर सुनुवारको प्रस्तुति रहेको यो भिडियोलाई डश म्युजिक प्रा.लि.मार्फत सार्बजनिक तथा बजार व्यबस्थापन गरिएको छ। हेर्नुहोस भिडियो :-

Wednesday, May 31, 2017

मोफसलबाट चर्चा कमाएका बेल्टारे गायक सन्दिप मोते!!

उदयपुर,बेल्टारमा वि.सं. २०४२ सालमा अामा पदम माया परियार र बाबा दिलकुमार परियारका कान्छा छोराका रुपमा जन्मिएका हुन् गायक संदिप मोते।उनले हाल सम्म दुई वटा सांगीतिक एल्बम "समर्पण" र " जिवन्त" निकाली सकेका छन् भने तेस्रो एल्बम "ट्रस्ट मी"को तयारी पनि गरिरहेका छन्।२०६३ सालमा समर्पण एल्बम निकालेको १० वर्ष पछि जिवन्त एल्बम निकालेका यी गायकले एक दर्जन जति गीतमा संगीत पनि भरिसकेका छन्। विगत १३ वर्षदेखि नेपाली गीत संगीत क्षेत्रमा लागी परिरहेका यी गायक संदिप मोतेसंग हाम्रा चौदण्डीगढी अनलाईनका प्रतिनिधिले लिएको संवाद प्रस्तुत गर्दछौं।


चौदण्डीगढी: नमस्कार संदिपजी,यहाँलाई हाम्रो चौदण्डीगढी अनलाईनमा हार्दिक स्वागत छ।
संदिप: नमस्कार अनि चौदण्डीगढी अनलाईनलाई धन्यवाद ।


चौदण्डीगढी:तपाईको पुरानो दिनहरु सुनाउनुहोस् न,कसरी संगीत क्षेत्रमा प्रवेश गर्नुभयो?
संदिप:म सानैबाट गुन्गुनाईरहन्थें, स्कुलमा साथीभाइहरुले गाउन लाईरहन्थें।यसरी नै साथीभाइहरुको हौसला र प्रेरणाले यो क्षेत्रमा लागियो।


चौदण्डीगढी:तपाईको नजरमा संगीत के हो?कसरी परिभाषित गर्नु हुन्छ?
संदिप:संगीत मानव जिवनमा नभई नहुने एउटा चिज जस्तो लाग्छ मलाई,म त भन्छु जीवन जिउने अाधार हो संगीत।


चौदण्डीगढी:तपाईको यो कला र गला भगवानको देन हो कि कतै सिक्नु नि भएको हो?
संदिप:वास्तवमा मेरो त भगवानको देन पनि हो र मैले यसलाई निख्खार्न २ वर्ष साधना कला केन्द्रमा सिकेको पनि हो।


चौदण्डीगढी:संगीत क्षेत्रमा लागेर तपाईले के पाएँ र के गुमाएँ जस्तो लाग्छ?
संदिप:पाउन त खासै केही पाएको छैन श्रोता दर्शकको माया बाहेक तर गुमाउन चाहिँ धेरै गुमाएको छु।


चौदण्डीगढी:भविष्यका योजनाहरु के कसो छन् नी?
संदिप:मेरो भविष्यको योजना भन्नु पर्दा त्यहि हो,नयाँ गीत संगीतहरु श्रोता तथा दर्शकलाई पस्किने नै हो।संगीतमै लाग्छु,अब तेस्रो एल्बम "ट्रस्ट मी"को तयारी गर्दैछु।


चौदण्डीगढी:तपाईं मीठो गाउनुको साथै अाफैं संगीत पनि गर्नुहुन्छ,गाउन र संगीत भर्न कुन चाहिँ तपाईलाई विशेष रुचि लाग्छ?
संदिप:म गाउन चाहि रुचाउँछु,मलाई गायन नै प्यारो लाग्छ।तर पनि मुड चल्दा कम्पोज भने गर्ने गरेको छु,व्यवसायिक रुपमा भने गायनमै अघि बढ्नेछु।


चौदण्डीगढी: तपाईमा यति कला र गला हुँदा हुँदै पनि सोचे जस्तो अगाडि अाउन नसक्नुको कारण के होला?
संदिप:मुख्य कुरा त अार्थिक रुपमा कमजोर हुनाले पनि सोचे जस्तो प्रगति गर्न सकिएन।तर पनि म हिम्मत हारेको छैन,जब सम्म यो सास यो अावाजले साथ दिन्छ,प्रयास जारी नै रहनेछ।


चौदण्डीगढी:मोफसलबाट यतिका वर्ष संघर्ष गर्नुभयो, काठमान्डौंबाट लागी पर्दा अझै अगाडि बढ्न सकिन्छ कि?
संदिप:हुन त हो,मोफसलबाट अगाडि अाउन धेरै गारो रहेछ।त्यहि सोचेर पनि म काठमान्डौं अाएको छु।अब काठमान्डौंबाट संघर्ष गर्नेछु,मोफसलबाट सोचे जस्तो  नहुने रहेछ।


चौदण्डीगढी:नेपाली संगीत क्षेत्र अहिले कस्तो पाउनुहुन्छ?गीत संगीत क्षेत्रमै लागेर जीवन चलाउन सकिन्छ त?
संदिप:नढाँटी भन्नु पर्दा वास्तवमै धेरै गारो छ,अझै पनि हाम्रो संगीत क्षेत्र त्यति व्यवसायिक भईसकेको छैन।केही चलेका गायक गायिका बाहेक अरुलाई गारो छ।अहिले सम्म त कमाएरै बाँचीरहेछु तर पनि एउटा सानो अाश छ कतै केही हुन्छ कि भनेर।


चौदण्डीगढी:तपाईं संग मोफसलको र काठमान्डौं दुवैको अनुभव छ,के भिन्नता पाउनु भयो मोफसल र काठमान्डौंको रेकर्डिङमा?
संदिप:धेरै फरक छ,काठमान्डौंमा व्यवसायिक संगीतकर्मीहरु बाट बाजा बजाईन्छ,उता जो पायो त्यहिले।स्टुडियो देखि ट्रयाक निर्माण सबैमा काठमान्डौंमै गुणस्तर पाईन्छ।


चौदण्डीगढी:तपाईं यतिका वर्ष संगीत क्षेत्रमा लाग्नुभयो,तर पछिल्लो समय "बेल्टार बजार" भन्ने गीतबाट चारै तर्फको वाह वाह पाउनुभयो,कतिले त बेल्टारे गायक भनेरै ट्याग पनि भरिाए,कस्तो लाग्छ तपाईलाई?
संदिप:जे होस् धेरै समयको संघर्ष पछि एकदम राम्रो गीत पाएँ,सारै नै खुशी छु।त्यहि भएर अाज बेल्टारे गायक भनेर ट्याग लाईदिनु भएको छ,यसको विशेष धन्यवाद उक्त गीतको गीतकार/कम्पोजर अन्जन किराँतीलाई दिन चाहन्छु जसले मलाई विश्वास गरिदिनु भयो।


चौदण्डीगढी:तपाईलाई विशेषत: कस्ता गीतहरु गाउन मनपर्छ?
संदिप:सबै किसमकै गीतहरु गाउन मन पराउने मान्छे म,रोमान्टिक,सेन्टिमेन्टल सबै प्रकारकै गीत गाउँदा अानन्द मिल्छ।


चौदण्डीगढी:हस् त ,यहाँको सांगीतिक यात्रा अझ शिखर चुमोस्,कामना सहित हामी संग भलाकुसारी गरिदिनु भयो धन्यवाद।
संदिप:चौदण्डीगढी अनलाईनलाई पनि म विशेष धन्यवाद दिन चाहन्छु,मेरा मनका केही कुरा राख्ने मौका दिनुभएकोमा,यो गायक पनि चौदण्डीगढी नगरपालिकाकै हो,मेरा अाउने यात्राहरुमा पनि साथको अपेक्षा राख्दछु।

Wednesday, May 24, 2017

नया नेपाली सर्ट मुभी "घाती श्रीमती" युटुबबाट रिलिज!!!

चौदण्डीगढी/समाचार
            होङ्खु सिनेमाको ब्यानरमा निर्माण भएको नया नेपाली सर्ट मुभी "घाती श्रीमती " युटुबबाट रिलिज गरिएको छ।
        महिला निर्देशक कृस्टी लिसरा को निर्देशनमा तयार भएको यो सर्ट मुभीले एउटा श्रीमतीले आफ्नो श्रीमानबाट टाढिएको अवस्थालाई देखाएको छ। जसमा बाहिर पर-पुरुष  सङको सम्बन्ध ले परिवारिक सम्बन्धमा दरार आएको कुरालाई देखाइएको छ ।
कलाकारहरु सुजन कोयि राई ,मुस्कान तामाङ , प्रेम तिगेला र आहाना भट्टराईले अभिनय गरेको यो सर्ट मुभिले समाजमा बेला बखत घटने  गरेका सामाजिक घटनालाई यथार्थमा देखाउन प्रयास गरिएको छ ।

Monday, May 22, 2017

भिषण र अन्जनको "एउटा सत्य" बाट अर्को गीत सार्वजनिक!!


चौदण्डीगढी / समाचार
                  नेपाली गीत संगीतको क्षेत्रमा बिगत केही समय देखि अनवरत रुपमा लागि परिरहेका सर्जक गीतकारहरु मध्येमा एक हुन् अन्जन किराँती जसले सांगीतिक सृजनामा अब्बल छाप छोडेका छन् । उनै गीतकार अन्जन किराँतीको शब्दमा रहेको "फूलको सौन्दर्यले सायद " बोलको गीतको  म्युजिक भिडियो युटुबबाट सार्वजनिक भएको छ ।गायक तथा संगीतकार भीषण  मुकारुङ तथा अहिलेका सांगीतिक दुनियाँमा मीठो स्वरकी धनी गायिका मेलिना राईको सुमधुर आवाजले सुसज्जित गीतमा कलाकार दुर्गा छेत्री र सन्जिता नेरितको अभिनय रहेको छ ।यु.ए.ईकै केही सुन्दर ठाउँहरुमा खिचिएको उक्त भिडियो केशव कटवालले निर्देशन गरेका हुन्।
धेरै पहिलादेखी बजारमा आएर चर्चित बनेको एल्बम "एउटा सत्य" मा संग्रहित यो गीतले आज म्युजिक भिडियोको आकार पाउँदा दर्शक श्रोताहरु पनि निकै उत्साहित बनेका छन्।

Sunday, May 21, 2017

उधोग बाणिज्य संघ बेल्टार - बसाहाको नेतृत्वमा भएका केही सामाजिक कार्यहरु सहयोगको अपेक्षा सहित ।

उधोग बाणिज्य संघ बेल्टार - बसाहाको नेतृत्वमा भएका केही सामाजिक कार्यहरु
सहयोगको अपेक्षा सहित
चौदण्डीगढी /उदयपुर
       बि.स. २०५३ सालबाट औपचारिक रूपमा उधोग बाणिज्य संघको शाखाको रुपमा सन्चालन हुँदै आएको बाणिज्य संघको काम कारबाहि तत्कालीन राजनैतिक अस्थिरता सङै सुस्त रुपमा यात्रा गर्दै आउदै गरेको अवस्थाबाट थोर बहुद बेल्टार का उधोगी व्यापारी हरुले एकताबद्द भएर सन्चालन मा ल्याउदै आएका थिए ।
ईतिहास हेर्दा बि.स.२०२१ सालबाट बिहिबारे हटिया सन्चालन हुँदै आएको जानकारहरु बताउछन । दिनानु दिन फस्टाएको व्यापार लाई सन्तुलनमा अगाडी बढाउन र व्यापारी ब्याबसायीहरुको हक हित र पैरवीका लागि उधोग बाणिज्य संघको आवश्यकता महसुस गरेर आउदै गर्दा २०५२ सालमा श्री बालकृष्ण श्रेष्ठको अध्यक्षतामा एउटा समिती बनाईएको थियो तेस्तै २०५३ सालमा श्री मित्रलाल भट्टराईको अध्यक्षतामा श्री मन्दिल श्रेष्ठ सचिब रहने गरि र उदयपुर उद्योग बाणिज्य संघ शाखा बेल्टार नाम रहने गरि सन्चालन शुरु गरियो।
तेस्तै हुँदै गर्दा श्री योगराज कार्की को अध्यक्षतामा अर्को समिती बनाएर चलाउदै आएको यो बाणिज्य संघ तेति चुस्त रुपमा अगाडी बढन सकेन तत्कालिन राजनैतिक अस्थिरता र गृहयुद्धको चपेटामा उदयपुर उधोग बाणिज्य संघ शाखा कार्यलय बेल्टार समेत परेको थियो।
बेल्टारकै ब्यबसायी व्यापारी उद्योगपति दिनेश खतिवडा को नेतृत्व मा फेरि अर्को समिती गठन भएर आयो जब दिनेश खतिवडाले आफ्नो कार्यकाल पूरा गरेर राजीनामा दिएपस्चात भएको बाणिज्य संघको चुनाव बाट  पवन कार्कीको नेतृत्वमा साबिकको उदयपुर उद्योग बाणिज्य संघ पर्यो तब व्यापारी हरुको हक हितका निमित्त महत्त्वपूर्ण प्रयासहरु हुँदै गए।
 उदयपुर उद्योग बाणिज्य संघ बेल्टार बसाहा को अध्यक्ष भएपछि पवन कार्की लगायत उहाको समितिको चौदण्डीगढी लगायत एरियामा भएका केही महत्त्वपूर्ण  कार्यहरु:
१. चौडण्डीगढी नगरपालिका लगायत आसपास का ब्यापारीहरुलाई एकताबद्ध भएर अगाडी बढन अभिप्रेरित गरेको।
२. व्यापार संघ को भवन को निमित्त २ कठ्ठा जगा ब्यबस्थापन गर्नमा महत्त्वपूर्ण भुमिका खेलेको
३. व्यापार संघको आफ्नै नाममा भएको दुई कठ्ठा जग्गा मध्ये एक कठ्ठामा भवन निर्माण हुँदै गरेको जसमा ६ कोठे सहित सुबिधा सप्पन्न भवन निर्माण हुँदै गरेको
४. स्थानिय बिकासको निमित्त सदैब लागि परिरहेको
५. कार्कीकै नेतृत्व मा भुकम्प पिडितहरुलाई सिन्धुपाल्चोक मा राहत बितरण गरेको
६.ब्ल्ड डोनेसन कार्यक्रम बेल्टार नगरिमा सन्चालन गरेको
७. सर्पदन्स बारे महत्त्वपूर्ण जनचेतना कार्यक्रम गरेको
८. फोहोर रहित नगर बनाउनु को निम्ति नगरपालिका र संघको सहयोगमा डस्बिन चोक चोक मा राखिएको।
९.यस उधोग बाणिज्य संघ को बिधान बनाउनको निम्ति संयोजक रही काम गरेको।
१०.बेल्टार  गाइघाट सडक बर्खा पश्चात् भत्केका खाल्डा खुल्डी स्तरउन्नती बनाउनु को निम्ति पहल गरेको।
११. कृषि बजार सार्नुको लागि र पुर्ण ब्यबस्थापन को लागि पहल गरेको।
१२. यस नगरको सम्पुर्ण उधोगी ब्यबसायी हरुको सहजताको निम्ति सम्पुर्ण व्यावसायिक हरुको पिर मार्का  लाई बुझ्दै सम्बन्धित निकाय हरुमा पहल गरेको
१३.सम्पुर्ण उधोगी व्यापारी हरुको जानकारी को निम्ति कर अभिमुखिकरण तालिम गर्ने गरेको।
१४.उपभोक्ताहरुको हितका निम्ति विभिन्न समयमा खाद्यन्न तथा पेय पदार्थ हरुको अनुगमन गर्ने गरेको ।
   तमाम चौदण्डीगढी निवासी दाजु भाइ तथा दिदिबहिनी लगायत देश बिदेशमा रहनु हुने सहयोगी मनहरुमा हामी के अनुरोध गर्दछौ भने अहिले चौदण्डीगढी नगरपालिका स्थित वडा न :- ७ मा बन्दै गरेको भवन निर्माणका निमित्त  यहाको तर्फबाट पनि हामी आर्थिक भौतिक सहयोग को अपेक्षा गर्दछौ। अहिले सबै समितिका सदस्यहरु दिनरात बाणिज्य संघको भवन निर्माणका निमित्त अहोरात्र खटिरहेको कुरा हामिले बुझेका छौ तसर्थ यहाहरुले पनि आफ्नो तर्फबाट केही सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
यहाँ हामीले केही तस्वीरहरु पोस्ट गरेका छौ जसले बेल्टार बसाहा उद्योग बाणिज्य महासंघ ले गरेका समाजसेवाका कामहरु देखि लिएर अन्य विभिन्न सरकारी तथा गैर सरकारी संघ सस्थाहरुको मिलेमतोमा गरेका कार्यक्रमका हुन











उदयपुरको चौदण्डीगढी नगरपालिकाको चुनावी अन्तिम रुपरेखा!!!

चौदण्डीगढी/उदयपुर उदयपुरको चौदण्डीगढी नगरपालिकाको स्थानीय निर्वाचन -२०७४ को नतिजा  सार्वजानिक भएको छ । दश वटा वडा रहेको यस नगरपालिकामा ...